सप्तरी,साउन १२।
कैलाश माझी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको विरोधमा सप्तरीको सप्तकोशी नगरपालिकाका दुई स्थानमा हिन्दु समुदायले विरोध प्रदर्शन तथा चक्काजाम गरेका छन्।
घटनाको विरोधमा सप्तकोशी नगरपालिका–४ स्थित बलार्दह चोक र वडा नं. ११ स्थित भगनी मलेठ चोकमा स्थानीय हिन्दु समुदायले प्रदर्शन गर्दै केही समय चक्काजाम गरेका हुन्। प्रदर्शनकारीहरूले कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनकारीका अनुसार कप्तानगञ्जमा हिन्दु समुदायले डिजे बजाएको विषयलाई लिएर दुई समुदायबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको र सो क्रममा गोली अनियन्त्रित भएर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको उनीहरूको दाबी छ।
घटनामा गोली लागेर थप ९ जना घाइते भएको र उनीहरू विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत रहेको बताइएको छ।
कप्तानगञ्ज घटनाप्रति आक्रोश व्यक्त गर्दै बलार्दह र भगनी मलेठ चोकमा भेला भएका प्रदर्शनकारीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न प्रशासन गम्भीर बन्नुपर्ने बताउँदै कुनै पनि नागरिकको ज्यान जाने गरी हुने घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
दुई स्थानमा भएको प्रदर्शनका कारण केही समय यातायातसमेत प्रभावित भएको थियो। स्थानीय प्रशासनले सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाएको छ।
घटनाबारे आधिकारिक रूपमा थप विवरण आउन बाँकी रहे पनि कप्तानगञ्ज घटनापछि सप्तरीमा समेत विरोध प्रदर्शन हुन थालेपछि स्थानीय तहमा सुरक्षा संवेदनशीलता बढेको छ। प्रदर्शनकारीहरूले घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।