कोशीमा लागूऔषधविरुद्ध प्रहरीको एक्सन, दुई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, भदौ २७ गते ।

कोशी प्रदेशका झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। साथै विभिन्न स्थानबाट ठूलो परिमाणमा गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

झापाको इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–९ का डम्बर कुमार श्रेष्ठलाई २ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, मोरङको अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१९ का ४३ वर्षीय बलराम पासवानलाई २०० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।

यसैबीच, प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका–४ स्थित कोशी राजमार्गबाट बेवारिसे अवस्थामा २५ किलोग्राम गाँजा बरामद गरेको छ।

त्यसैगरी, मोरङको प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–२ स्थितबाट बोरामा राखिएको ३२ किलो ७६० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।