विराटनगर, असोज १९ गते । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट विभिन्न परिमाणमा ब्राउन सुगर तथा प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ।
असोज १८ गते झापाको भद्रपुर नगरपालिका–५ मा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा इलाम नगरपालिका–१० का सरोज बनियालाई ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनी प्र.१–०२–०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार थिए।
मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुन्दरहरैचा नगरपालिका–११ का विशाल बस्नेतलाई ३०० मिलिग्राम तथा धरान–९ का नरेश खड्गी र कृष्ण राईलाई ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही टोलीले केराबारी गाउँपालिका–६ का शुसान्त वि.क. र निर्मल तामाङलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
चेकजाँचकै क्रममा प्रदेश अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका–५ का कृष्णकुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–१ का अरुण मण्डल र विवेक धिमाललाई १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीमा इलाका प्रहरी कार्यालय धरानले धरान–८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी धनकुटामा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले चौबिसे गाउँपालिका–६ का उपहार राई, शशिहाङ राई र साँगुरीगढी–५ का सलुन राईलाई २०० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उदयपुरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका–११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेका १४ जनामाथि थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।