३ ज्येष्ठ २०८३
सप्तरी : सप्तरीको कञ्चनरुप नगरपालिका–४ बकाल क्षेत्रमा शनिबार साँझ अचानक प्रहरी पुगेपछि केहीबेर त्यहाँ अफरातफरी मच्चियो। बाहिरबाट सामान्य जमघटजस्तो देखिने एउटा घरभित्र भने ठूलो रकमको जुवा तास चलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले छापा मार्दा स्वास्थ्य शाखा प्रमुख, शिक्षा समिति सदस्य, व्यवसायी, वैदेशिक रोजगारीमा संलग्न व्यक्ति तथा अवकाशप्राप्त कर्मचारीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुई लाख रुपैयाँभन्दा बढी नगद, तास तथा जुवा खेल्न प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा सप्तकोशी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश चौधरी, कृषि शाखाका प्रमुख अमित चौधरी, अवकाशप्राप्त प्रधानाध्यापक गजेन्द्र चौधरी, सत्यनारायण सरदार, व्यवसायी सञ्जय साह, विजय सरबरिया, दिपेश कुमार थापा मगर, अवकाशप्राप्त कर्मचारी पुलकित चौधरी, इन्टरनेशनल स्कूलका संस्थापक पप्पु गुप्ता तथा सुन व्यवसायी राम सुन्दर साह रहेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये केही व्यक्तिहरू यसअघि पनि जुवा मुद्दामा मुछिएका थिए। पुरानो मुद्दाको प्रक्रिया चलिरहेकै अवस्थामा पुनः जुवाको खालमै भेटिएपछि प्रहरीले यसपटक घटनालाई गम्भीर रूपमा लिएको बताइएको छ।
स्थानीयवासीहरूका अनुसार बकाल क्षेत्रमा लामो समयदेखि नियमित रूपमा जुवाको जमघट हुँदै आएको थियो। विशेषगरी “५० रुपैयाँ पोइन्ट” मा म्यारिज खेल सञ्चालन हुने गरेको र यसलाई केही समूहले नियमित आम्दानीको स्रोत बनाएको आरोप छ।
स्थानीयका अनुसार रातिको समयमा हुने यस्ता गतिविधिका कारण समाजमा गलत सन्देश फैलिएको थियो। कतिपय युवाहरू समेत यसतर्फ आकर्षित हुन थालेको र परिवारमा आर्थिक तथा सामाजिक समस्या बढ्न थालेको गुनासो उनीहरूको छ।
घटनाले स्थानीय राजनीतिक तथा सामाजिक वृत्तमा समेत तरंग पैदा गरेको छ। पक्राउ परेका पप्पु गुप्ता नगर शिक्षा समिति सदस्यसमेत रहेका कारण अहिले “समाजलाई शिक्षा दिने ठाउँमा बसेकाहरू नै कानुनविपरीत गतिविधिमा संलग्न हुनु कति उचित हो ?” भन्ने प्रश्न उठ्न थालेको छ।
स्रोतका अनुसार केही प्रभावशाली व्यक्तिहरूले घटनालाई सामान्य बनाएर मिलाउने प्रयास गरे पनि प्रहरी प्रशासनमाथि कानुनी प्रक्रिया अगाडि बढाउन दबाब बढेको छ। स्थानीय नागरिकहरूले पनि पहुँच र शक्तिका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने माग गरेका छन्।
प्रहरीले पक्राउ परेका सबै व्यक्तिमाथि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जनाएको छ। साथै जुवातासजस्ता अवैध गतिविधिविरुद्ध आगामी दिनमा थप कडाइ गरिने चेतावनीसमेत दिएको छ।
कानुन के भन्छ ?
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवा खेल्ने र खेलाउने दुवै कार्य दण्डनीय अपराध हुन्। पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।
दोस्रोपटक कसुर दोहोरिए एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। पुनः अपराध दोहोरिए थप कैद तथा जरिवानाको व्यवस्था रहेको कानुनमा उल्लेख छ। साथै जुवा खेल्न प्रयोग भएका नगद, तास तथा अन्य सम्पत्तिसमेत जफत गर्न सकिने प्रावधान रहेको छ।
स्थानीय सरोकारवालाहरूले समाजमा बढ्दो जुवातास नियन्त्रण गर्न प्रहरी प्रशासनले नियमित निगरानी, प्रभावकारी कारबाही र जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।