सप्तरी, साउन २८ गते।
कैलाश माझी : सप्तरीको कञ्चनरूप नगरपालिका–७ बलुवास्थित फत्तेपुर–कञ्चनपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनापछि बरामद भएको ९ किलो ९३० ग्राम गाँजा प्रहरीले नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीका अनुसार गत साउन १८ गते बेलुका करिब ७ः१० बजे उक्त सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनाका क्रममा प्रदेश १–०२–०५८ प १७३० नम्बरको मोटरसाइकल चालक सागर राईको साथबाट लागूऔषध गाँजा बरामद भएको थियो।
दुर्घटनापछि अनुसन्धानका क्रममा बरामद गरिएको गाँजाको तौल जम्मा ९ किलो ९३० ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद पदार्थ परीक्षण तथा अनुसन्धानबाट लागूऔषध गाँजा नै भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार बरामद भएको उक्त गाँजा आज साउन २८ गते बिहीबार पत्रकारहरूको उपस्थितिमा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको परिसरमा आगो लगाएर नष्ट गरिएको हो।
लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।