काठमाडौं, साउन २९ गते।
सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै श्रेष्ठलाई आगामी भदौ १ गते अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको छ।
सर्वोच्च अदालतका माननीय न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
निवेदनमा श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत रिहा गर्न माग गरिएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।
बहस सुनेपछि इजलासले निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने सम्बन्धमा आधार र कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
अदालतले २०८३ भदौ १ गते बिहान १० बजे महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसमेत उपस्थित गराई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। लिखित जवाफ पेश गर्दा आदेश र रिट निवेदनको एक–एक प्रति नक्कलसमेत साथमा राख्न भनिएको छ।
अनुसन्धान फाइल र बरामद सामग्रीसमेत ल्याउन आदेश
सर्वोच्च अदालतले भदौ १ गतेको इजलासमा किशोर श्रेष्ठलाई सशरीर उपस्थित गराउनुका साथै उनीविरुद्ध पेश भएको जाहेरी दरखास्तसहितको सम्पूर्ण अनुसन्धान फाइल समेत ल्याउन आदेश दिएको छ।
त्यसैगरी श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका कम्प्युटर (PC), ल्यापटप, आईप्याड र मोबाइल फोनलगायतका सामग्रीसमेत इजलाससमक्ष देखाउन आदेश दिइएको छ।
अदालतको आदेशमा ती सामग्रीहरू उक्त दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी उपस्थित हुन भनिएको छ।
लिखित जवाफपछि मुद्दा पुनः पेश हुने
अदालतले तोकिएको समयभित्र विपक्षीको लिखित जवाफ पेश भएमा वा लिखित जवाफ पेश गर्ने अवधि व्यतीत भएपछि मुद्दालाई नियमानुसार पुनः इजलाससमक्ष पेश गर्न आदेश दिएको छ।
सर्वोच्चको यो आदेशसँगै पत्रकार किशोर श्रेष्ठको पक्राउ, थुनामा राखिएको विषय तथा उनको घर र कार्यालयबाट नियन्त्रणमा लिइएका सञ्चार उपकरण र सामग्रीसम्बन्धी विषयसमेत अदालतको प्रत्यक्ष निगरानीमा आएको छ।
सर्वोच्च अदालतले आदेश २०८३ साउन २९ गते जारी गरेको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।