सप्तरी ।
ज्योति विकास बैंक लिमिटेड, क्लस्टर कार्यालय बर्दिवास अन्तर्गत कर्जा असुली कार्यमा खटाइएका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार रुपनी शाखाबाट कर्जा लिई समयमै नतिरेपछि बैंकले कर्जा असुलीको प्रक्रिया अघि बढाएको अवस्थामा २०८२ साल मंसिर २४ गते दिउँसो करिब ३ बजेतिर सप्तरीको बलार्द चौक नजिकै विपक्षी समूहले बैंकका कर्मचारी सुनीत श्रेष्ठ र सविन कुमार श्रेष्ठलाई एक्कासी घेराबन्दी गरी नियन्त्रणमा लिएका थिए।
प्रहरीका अनुसार उनीहरूलाई सप्तकोशी नगरपालिका–७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि. सञ्चालनमा रहेको स्थानमा लगेर कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, फोटो तथा भिडियो खिच्ने जस्ता अपमानजनक व्यवहार गरिएको थियो। साथै, कर्मचारी सुनीत श्रेष्ठको हातमा लगाएको दश आना सुनको औँठी र सुनको सिक्रीसमेत लुटपाट तथा कुटपिट गरिएको विज्ञप्तिमा उल्लेख छ।
घटनापछि २०८२ साल मंसिर २९ गते बेलुका करिब ६ बजे पीडित पक्षबाट रितपूर्वकको जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले प्रतिवादीको खोजतलास गर्दै सप्तरी जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा
सप्तकोशी नगरपालिका–७ निवासी ५२ वर्षीय संजिव कुमार चौधरी र
अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ निवासी ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन्।
उनीहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।