जेन्जी आन्दोलनमा लुटिएको सटगन झापाबाट बरामद, एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, भदौ ७ गते ।

जेन्जी आन्दोलनका क्रममा लुटिएको भनिएको एक थान सटगनसहित एक जना युवकलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–१ रातोपुलस्थित एएक्स इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन्।

प्रहरीका अनुसार कर्णले गत २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सटगन झापाको दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो। प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा लगी खोजतलास गर्दा प्रहरीको मिक कम्बलमा पोको पारी लुकाइएको अवस्थामा सटगन फेला पारेको जनाएको छ।

बरामद सटगनको ब्यारेल भाँचिएर दुई टुक्रा भएको तथा बेसावुत अवस्थामा रहेको प्रहरीले जनाएको छ। सटगनको नम्बर १२११११४ रहेको उल्लेख गरिएको छ।

प्रहरीले उक्त हतियार बरामद गरी पक्राउ परेका कर्णमाथि थप अनुसन्धान अघि बढाएको छ। हतियार कहाँबाट लुटिएको थियो, आन्दोलनका क्रममा कसरी उनको हातमा पुग्यो र त्यसलाई कहाँ–कहाँ प्रयोग गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।