इटहरी, भदौ ९ गते ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ५ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २०८३ भदौ ९ गते बिहान करिब ११ बजे बीपी चोक क्षेत्रमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा खुल्ला सुर्ती १५० किलोग्राम, ‘GENUINE BACK BAG’ लेखिएको झोला ५० थान र ‘DUFFLETANNIN CARRYING BAG’ लेखिएको झोला ३० थान रहेका छन्।
बरामद भएका सामानको कुल अनुमानित मूल्य रु. ५ लाख ९५ हजार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भन्सार छली गरी ल्याइएका उक्त अवैध सामानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। बरामद सामानको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।