सुनसरी, भदौ १३ गते ।
सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल भदौ १२ गते साँझ करिब ५ बजे महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कोशी प्रदेश ०२–००५ ह ६९५९ नम्बरको सिटी सफारीलाई शंका लागेर चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा सिटी सफारी चालक इटहरी उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय अरुण नेपाली र सिटीमा सवार सोही स्थानका ३५ वर्षीय सुमन कार्कीको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ०.८२ ग्राम (८२० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधजस्तो देखिने पदार्थ र सिटी सफारीसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।