इनरुवा, भदौ ६ गते ।
कैलाश माझी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब २ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।
मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४३ वर्षीय अर्जुन राई र पछाडि सवार सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राईलाई खानतलासी गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ५.७५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल ५ ग्राम ७५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई उक्त पदार्थ र प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।