इमेलमार्फत अश्लील सन्देश पठाई महिलालाई मानसिक यातना दिने व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार २९ 

कैलाश माझी : इमेलमार्फत एक महिलालाई बारम्बार अश्लील तथा अपमानजनक सन्देश पठाई चरित्रहत्या गर्ने, दुःख–हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।

साइबर ब्यूरोले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पीडित महिलाले कानूनबमोजिम कारबाहीको माग गर्दै दिएको निवेदनपछि गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त घटनामा नुवाकोटको तार्केश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१०, कपन बस्दै आएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल संलग्न रहेको खुलेको थियो।

त्यसपछि साइबर ब्यूरोको टोलीले असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका खनालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

नेपाल प्रहरीले विद्युतीय माध्यम प्रयोग गरी कसैको चरित्रहत्या गर्ने, अश्लील वा अपमानजनक सन्देश पठाउने तथा मानसिक दुःख–हैरानी दिने कार्य कानुनअनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।