"ई–सेवाको कर्मचारी हुँ" भन्दै ठगी गर्ने युवक पक्राउ, डेढ लाखभन्दा बढी रकम ठगी गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार 

कैलाश माझी : आफूलाई ई–सेवाको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन गरेर ‘रिवार्ड पोइन्ट’ प्रयोग गरिदिने बहानामा ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा रौतहट जिल्लाको साविक खेसरहिया गाविस–१ जन्मस्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेका छन्।

ब्यूरोका अनुसार साहले पीडितलाई फोन गरी “तपाईंको ई–सेवामा धेरै रिवार्ड पोइन्ट रहेको छ, किन प्रयोग नगरेको?” भन्दै प्रलोभनमा पारेका थिए। त्यसपछि रिवार्ड पोइन्ट प्रयोग गरिदिने बहानामा विभिन्न विवरण माग गरी पीडितको मोबाइलमा आएको OTP समेत प्रयोग गरेर रकम चोरी गरेका थिए।

प्रहरीका अनुसार पीडितको खाताबाट रु. १ लाख ९८ हजार ४९९ रकम अनधिकृत रूपमा निकालिएको थियो। उक्त रकमबाट Evolution Trading Pvt. Ltd. मार्फत iPhone 17 मोबाइल खरिद गरिएको अनुसन्धानबाट खुलेको छ।

साइबर ब्यूरोबाट खटिएको टोलीले असार २ गते साहलाई पक्राउ गरेको हो। पक्राउका क्रममा उनको साथबाट ४ थान मोबाइल फोन, ४ थान सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिने १५३ जना व्यक्तिका ई–सेवा आईडीसँग सम्बन्धित मोबाइल नम्बरहरूको सूची समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीविरुद्ध विद्युतीय माध्यमसम्बद्ध ठगी (Cyber Fraud) मुद्दामा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा काठमाडौं जिल्ला अदालत बाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका साह यसअघि पनि यस्तै प्रकृतिका दुईवटा ठगी मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

साइबर ब्यूरोले सर्वसाधारणलाई कुनै पनि व्यक्ति वा संस्थाको नाममा आउने फोन, लिंक वा OTP सम्बन्धी आग्रहप्रति सजग रहन आग्रह गर्दै आफ्नो OTP, पासवर्ड तथा व्यक्तिगत विवरण कसैलाई पनि नदिन अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।