काठमाडौँ । थाइल्याण्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले हुलाकमा आएको पार्सलबाट थाई गाँजा १ किलो ९१० ग्राम बरामद गर्दै दुई महिलासहित चार जनालाई पक्राउ गरेको जनाएको छ।
ब्यूरोका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ ९ गते थाइल्याण्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सलमाथि शंका लागेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उक्त पार्सलबाट ९१० ग्राम थाई गाँजा फेला परेको थियो।
पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले त्यसपछि ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएको थियो। सोही क्रममा पार्सल लिन आएका दुई महिलालाई २०८३ भदौ १६ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका महिलाहरूको धरान उपमहानगरपालिका–१५, मिलनपथस्थित डेराकोठामा समेत प्रहरीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा डेरा कोठाभित्र लुकाएर राखिएको थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र पक्राउ परेका महिलालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बुझाइएको थियो।
अनुसन्धानकै क्रममा उक्त गाँजा रिसिभ गर्न आएका भारतीय नागरिकहरूबारे समेत प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। सोही आधारमा २०८३ भदौ १९ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ बाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा:
जेसिका तामाङ, १९ वर्ष, धरान उपमहानगरपालिका–२०, सुनसरी।
तारा मगर, २५ वर्ष, छथरजोरपाटी गाउँपालिका–२, धनकुटा।
सारोन सुनिल तिया, २४ वर्ष, भारत, केरल जिल्ला, कन्नोर।
अमल आर, २२ वर्ष, भारत, केरल जिल्ला।
रहेका छन्।
प्रहरीले घटनामा थाई गाँजा १ किलो ९१० ग्राम र चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरान, सुनसरी तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।
थाइल्याण्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको गाँजा इटहरी हुँदै भारतीय नागरिकसम्म पुग्ने क्रममा रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।