राजविराज, जेठ २२
कैलाश माझी : सप्तरी प्रहरीले लागूऔषध गाँजा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ २२ गते बिहान करिब ३:३० बजे सप्तकोशी नगरपालिका–१ हेडबाँध टोल क्षेत्रमा नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा बोरा बोकेर हिँडिरहेका स्थानीय ४३ वर्षीय भुपराज कार्कीलाई प्रहरीले रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कार्कीले बोकेको एल–३ लेखिएको सेतो बोराभित्र प्रतिबन्धित लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। उक्त पदार्थको तौल गर्दा १३.२२ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले कार्कीको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा उनी सुत्ने कोठाको खाटमुनि राखिएको खैरो रंगको झोलाभित्र थप ९.९२ किलोग्राम गाँजाजस्तो पदार्थ फेला पारेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका भुपराज कार्कीले उक्त लागूऔषध सप्तकोशी नगरपालिका–१ फत्तेपुर निवासी २८ वर्षीय दिपेश भन्ने ठाकुर कुमार लेखीको भएको बयान दिएका थिए। त्यसपछि प्रहरीले खोजतलास तीव्र पार्दै लेखीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
दुवै प्रतिवादीलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा प्रहरी प्रतिवेदनमार्फत मुद्दा दर्ता गरिएको छ। सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक विजय कार्कीले जानकारी दिएका छन्।
प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको बताउँदै यस्ता गैरकानुनी गतिविधिविरुद्ध कडा निगरानी जारी रहने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।