गणेश नेपाली मृत्यु प्रकरणमा ९ बुँदे सहमति: निष्पक्ष छानबिन, राहत, रोजगारी र छोरीको उच्च शिक्षाको व्यवस्था गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार २८ 

कैलाश माझी : मुगुको सोरु गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा असार २६ गते भएको असामयिक निधनपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार सार्वजनिक गरिएको सहमतिपत्रमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले स्वर्गीय गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ।

त्यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।

घटना भएको दिन घटनास्थलमा अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसका आधारमा अन्तिम निर्णय हुने गरी हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ।

यस्तै, काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराइने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइनेछ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्नेछन्।

सहमतिपत्रमा मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, अन्त्येष्टि तथा काठमाडौंमा गरिने काजकिरियाको सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने, शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रियामा परिवारले सहयोग गर्ने तथा मृतकका एकाघरका परिवारको काठमाडौं आउजाउ, बसोबास र काजकिरिया अवधिभरको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने उल्लेख गरिएको छ।

यसैगरी मृतकका एकाघरका परिवारको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने सहमति पनि भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख

जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सम्पन्न वार्तापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।