धरौटी मिलाइदिने भन्दै रकम लिएको आरोपमा दुई पक्राउ, ७ थान खाली चेक बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिएर रकम लिएको आरोपमा प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले २०८३ असोज २ गते साँझ करिब ७ बजे काठमाडौं महानगरपालिका–११ स्थित काठमाडौं जिल्ला अदालत परिसरबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–८ बस्ने ३१ वर्षीय अजय थापा मगर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले लागूऔषध मुद्दाका एक प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई प्रतिवादीकी श्रीमतीबाट अवैध रूपमा ४ लाख ७९ हजार रुपैयाँ लिएको पाइएको थियो।

प्रहरीले उनीहरूको साथबाट ३ थान मोबाइल र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकका ७ थान खाली चेक समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।