धनुषामा लागुऔषधविरुद्ध प्रहरीको कारबाही, १९७ ग्रामभन्दा बढी पदार्थसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा । धनुषामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बुधबार २०८३ साल भदौ २२ गते बिहान करिब ९ः४५ बजे विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंको शाखा कार्यालय बर्दिवास, महोत्तरी र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक राकेश यादव र प्रहरी निरीक्षक केशव गौतमको कमाण्डमा खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका–२, नक्टाझिझस्थित जनकपुर–ढल्केवर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार भारत, मधुवनी जिल्ला, कमलावारी पुरी–१३ बस्ने करिब २७ वर्षीय संजित कुमार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा मोटरसाइकल चालक धनुषाको सबैला नगरपालिका–१०, खरियानी टोल बस्ने करिब ३४ वर्षीय राकेश चमार र संजित कुमार रामलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले बरामद पदार्थ खैरो हेरोइनजस्तो देखिने रहेको जनाएको छ। यसको वास्तविक प्रकृति तथा थप विवरण सम्बन्धित परीक्षण र अनुसन्धानबाट खुल्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।