सुनसरी, भदौ १० गते ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ९ बजे रामजानकी मन्दिर पछाडिको गोठमा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा गोठभित्र कालो प्लास्टिकले बेरिएको सेतो बोरामा लुकाइराखिएको गाँजाजस्तो देखिने पदार्थ ४१३ किलो ९८० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार सोही गोठको पछाडिबाट BR 38 R 0558 नम्बरको भारतीय मोटरसाइकल समेत बेवारिसे अवस्थामा फेला परेको थियो।
बरामद गाँजा र भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। बरामद गाँजा कसले र कहाँबाट ल्याएर गोठमा लुकाएको थियो तथा मोटरसाइकल कसको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान तथा गाँजाको ओसारपसारसम्बन्धी थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।