सप्तरी, २६ असार।
कैलाश माझी : सप्तरी प्रहरीले बोक्सीको आरोप लगाई एक महिलामाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८३ असार २६ गते डाक्नेश्वरी नगरपालिका–१०, बनौलीबाट ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गत २०८३ वैशाख २९ गते बिहान करिब १० बजे डाक्नेश्वरी नगरपालिका–१० स्थित बनौलीमा उनीहरूले एक महिलालाई बोक्सीको आरोप लगाउँदै अश्लील गालीगलौज गर्नुका साथै विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरेका थिए। घटनापछि दुवै जना फरार रहेका थिए।
इलाका प्रहरी कार्यालय कल्याणपुरले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पीडित रेखा कुमारी मण्डलको जाहेरीका आधारमा "बोक्सीको आरोप" सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिएर दुवै प्रतिवादीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।
नेपालमा बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार कसैलाई बोक्सीको आरोप लगाउने, सार्वजनिक रूपमा अपमान गर्ने वा शारीरिक तथा मानसिक यातना दिने कार्य कानुनतः दण्डनीय अपराध हो। यस्तो कसुरमा संलग्न व्यक्तिलाई प्रचलित कानूनबमोजिम कैद र जरिवानासहितको सजाय हुन सक्ने व्यवस्था रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।