चितवन, भदौ ६ गते ।
चितवनको खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १२ः२३ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत तरकारी चोकमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र मोटरसाइकलको पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए।
दुवै घाइतेलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको नाम, थर तथा स्थायी वतन भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनसमेत प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।