काठमाडौं, भदौ ९ गते ।
काठमाडौंको चौमतीबाट प्रहरीले स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार चिनियाँ नागरिकले काठमाडौंमा घर भाडामा लिएर बस्दै लागूऔषध कारोबार गर्दै आएको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले उनको खोजतलास थालेको थियो।
खोजतलासका क्रममा २०८३ भदौ ८ गते काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित भाडाको घरमा बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिक MA YAGUB फेला परेका थिए।
प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा लागूऔषध भने फेला नपरेको जनाएको छ। तर, उनको साथबाट स्रोत नखुलेको नेपाली नगद रु. ३१ लाख बरामद भएको प्रहरीले जनाएको छ।
नगदसँगै प्रहरीले ELI478138 नम्बरको पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची एक थान, ह्याम्मर एक थान, डिजिटल तराजु एक थान, क्यालकुलेटर एक थान र विभिन्न कम्पनीका चार थान मोबाइल फोनसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार MA YAGUB लाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।
प्रहरी अभिलेखअनुसार उनी यसअघि ६ पटक नेपाल आएर फर्किसकेका छन्। पछिल्लो पटक भने उनी सन् २०२६ जुलाई २३ (२०८३ साउन ७ गते) नेपाल प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको ठूलो रकम, डिजिटल तराजु, सुन काट्ने उपकरणलगायतका सामग्री बरामद भएपछि प्रहरीले उनको नेपाल आगमन, आर्थिक गतिविधि तथा सम्भावित कारोबारका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
घटनामा लागूऔषध कारोबारसँग उनको सम्बन्ध रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।