काठमाडौं, भदौ १० गते ।
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना नआएसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सम्भावित जोखिमबाट जोगिन तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
प्राधिकरणले खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै किसिमको सहायता आवश्यक भएमा टोल फ्रि नम्बर १०० तथा १२३४८१११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
सडकमा आवतजावत नगर्न आग्रह
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न र नगराउन समेत आग्रह गरेको छ।
उक्त क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको छ।
प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई अपिल गरेको छ।
बुधबार, २०८३ भदौ १० गते जारी गरिएको सूचनामार्फत प्राधिकरणले नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र जोखिम देखिएमा ढिलाइ नगरी सुरक्षित स्थानमा सर्न आग्रह गरेको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।