बारामा ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा, भदौ १६ ।

कैलाश माझी : बाराको विश्रामपुर गाउँपालिकाका ११ वर्षीय बालकको अपहरणपछि भारतमा लगेर हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विश्रामपुर गाउँपालिका–३ मुसहर्वा बस्ने ११ वर्षीय राजेश कुमार साह गत भदौ ९ गते बिहान करिब ९ बजेबाट हराएका थिए। बालक हराएको सूचना सोही दिन राति करिब ७ः५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजी गर्ने क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्य, मोतिहारी जिल्ला, नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा संकलन गरिएको CCTV फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुरबाट अपहरण गरी भारतको उक्त स्थानमा लगेर हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वाकै १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। प्रहरीले नाबालक भएकाले उनको नाम परिवर्तित नाम जिल्ला–३३ (A) ०८३/८४ उल्लेख गरेको छ।

पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीले घटनामा अन्य व्यक्ति संलग्न भए/नभएको तथा हत्याको कारणलगायत विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।