काठमाडौं, भदौ ९ गते ।
काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ ९ गते बिहान करिब ९ः३० बजे काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि पिक आवर ड्युटीमा प्रहरी खटिएका थिए।
सडक पार गर्न खोजिरहेका मानिसहरूलाई प्रहरीले आकाशे पुल प्रयोग गरी बाटो काट्न सम्झाइरहेको अवस्थामा एक युवकले प्रहरीको आग्रह अटेर गरी उल्टै प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनामा संलग्न आरोपमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिइएको हो।
कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गरेको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कठायतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँबानेश्वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।