काठमाडौं, भदौ १५ गते ।
कैलाश माझी : राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ।
परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउँदा खिचिएका फोटो तथा भिडियो फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जालमा पोस्ट नगर्न तथा नगराउन आग्रह गरेको हो।
परिषद्का अनुसार विपद्का कारण पीडित अवस्थामा रहेका बालबालिकाको फोटो तथा भिडियो सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, मर्यादा, सुरक्षा र बाल अधिकारमा असर पर्न सक्ने भएकाले संवेदनशीलता अपनाउन आवश्यक छ।
परिषद्ले उद्धार, राहत तथा सहयोगका नाममा बालबालिकाको व्यक्तिगत पहिचान सार्वजनिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण नगर्न व्यक्ति, संघसंस्था तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
बालबालिकाको सर्वोत्तम हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै सहयोग तथा उद्धारका गतिविधि सञ्चालन गर्नुपर्ने परिषद्को भनाइ छ। राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ बमोजिम बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्धनका लागि स्थापित विशिष्टीकृत निकाय हो।
परिषद्ले यसअघि पनि संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशन दिँदै आएको छ। परिषद्ले बालबालिकाको गोपनीयता, सुरक्षा तथा सर्वोत्तम हितको संरक्षणलाई गम्भीरतापूर्वक लिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा बाढीपीडित तथा प्रभावित बालबालिकाको सम्मान र गोपनीयताको पालना गर्दै फोटो तथा भिडियो सार्वजनिक नगर्न तथा नगराउन हार्दिक अपील गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।