अवैध पेस्तोलसहित दुई जना पक्राउ, ५ राउण्ड गोली बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, भदौ २७ गते ।
सुर्खेत प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दैलेखको आठबीस नगरपालिका क्षेत्रमा लुकाइराखिएको अवस्थामा पेस्तोल, म्याग्जिन र ५ राउण्ड गोली बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा रहेका दैलेखको आठबीस नगरपालिका–३० का भीमबहादुर शाही र आठबीस नगरपालिका–२७ का भूपेन्द्र शाहीसँग सोधपुछ गर्ने क्रममा हतियार लुकाएको जानकारी खुलेको थियो।

भूपेन्द्र शाहीले दिएको बयानका आधारमा भदौ २६ गते प्रहरी नायब निरीक्षक कृष्ण चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय राकम, दैलेखसँग समन्वय गरी राकम खोलीबजार नजिकैको खोल्सामा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा खोल्साको झाडीमा कालो प्लास्टिकको पोकामा लुकाइराखिएको अवस्थामा “MADE IN CZECHOSLOVAKIA” लेखिएको र 105028 नम्बर उल्लेख भएको एक थान पेस्तोल, एक थान म्याग्जिन र उक्त पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद हतियार तथा गोलीसहित पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।