सुनसरी, भदौ १४ गते ।
कैलाश माझी : सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै नदीको बहाव बढ्दा तटीय क्षेत्रमा असर पर्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन सबैमा अनुरोध गरेको हो।
प्रहरीले नदी तथा खोलाको आसपासमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने, भिडियो बनाउने लगायतका जोखिमपूर्ण गतिविधि नगर्न समेत आग्रह गरेको छ।
विशेषगरी नदीको पानीको सतह र बहाव अचानक बढ्न सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा अन्य परिवारका सदस्यलाई नदी किनारमा जान नदिन र सम्भावित जोखिमबाट जोगिन प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले “नागरिकको सुरक्षा, हाम्रो प्राथमिकता” भन्ने सन्देशसहित सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।