कैलाश माझी,सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्दामा एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीले उक्त जानकारी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई मिति २०८३ साल वैशाख २८ गते पक्राउ गरिएको हो।
पीडितले दिएको किटानी जाहेरीका आधारमा मुस्तकिम मियाँ लगायतका व्यक्तिहरूले पीडितलाई अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको, डर–त्रास देखाई कुटपिट गरेको तथा जबरजस्ती शरीरका सम्पूर्ण कपडा खोलि नाङ्गो बनाई भिडियो समेत बनाएको आरोप रहेको प्रहरीले जनाएको छ।
उक्त जाहेरी पश्चात प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले मुस्तकिम मियाँलाई राजविराज नगरपालिका वडा नम्बर ८ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।