५० हजार घुस आरोपमा इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियारको आरोपपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज १९ गते ।

कैलाश माझी : नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंले २०८३ असोज १९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट घुसबापत ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडानसम्बन्धी सेवा दिनुपर्ने काममा बदनियतपूर्ण ढंगले ढिलासुस्ती गरेको अख्तियारको दाबी छ। आयोगका अनुसार उनले सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस दिन बाध्य बनाएको र विद्युत् लाइन जडान तथा त्यसमा सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको छ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाएको छ। आयोगले ५० हजार रुपैयाँलाई बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजाय हुन मागदाबी गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।