२२ महिनापछि फरार प्रतिवादी गोली लागेपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा । ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी मुद्दाका फरार प्रतिवादी २२ महिनापछि प्रहरीको गोली लागेर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार राज्य, मधुवनी जिल्ला, ललबनियाँ थाना घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने करिब ३७ वर्षीय मोहम्मद कुरवान रहेका छन्। उनी मोहम्मद मोकिन मंसुरीका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८१ कात्तिक १६ गते बिहान करिब ३ बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक नेपालबाट भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा बीओपी बडारी, सिरहाबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण प्रसाद यादवसमेतको टोलीले उक्त गाडी रोकी जाँच गर्न खोजेको थियो। सो क्रममा DL 5 CJ 7171 नम्बरको टाटा सफारीले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक यादवलाई ठक्कर दिई किचेर मृत्यु भएको प्रहरीको भनाइ छ।

उक्त घटनापछि फरार रहेका प्रतिवादीमध्ये टाटा सफारीका धनी तथा चालकसमेत रहेका मोहम्मद कुरवानलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दै जाने क्रममा २०८३ असोज ३ गते साँझ करिब ५ः१० बजे सोही बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुरवानसहित तीन जना व्यक्तिले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली चलाएर भाग्न खोजेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउण्ड गोली चलाएको थियो।

गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा चोट लागेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।