काठमाडौं, साउन १५ ।
कैलाश माझी : प्रेस काउन्सिल नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा उत्पन्न संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई थप जिम्मेवार बन्न आग्रह गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले यस्तो संवेदनशील समयमा समाचार, तस्बिर, भिडियो तथा अन्य सामग्री सम्प्रेषण गर्दा तथ्य, सन्तुलन, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेको छ। अपुष्ट, भ्रामक तथा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा विशेष सावधानी अपनाउन काउन्सिलले सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुनः आग्रह गरेको छ।
काउन्सिलका अनुसार हालसम्म उक्त घटनासँग सम्बन्धित २०७ वटा सामग्रीको अनुगमन गरिएको छ। तीमध्ये ९० वटा सामग्री पत्रकार आचारसंहिता विपरीत भेटिएका छन्। यस क्रममा ३४ वटा सञ्चारमाध्यमका ५९ वटा सामग्री तथा २ वटा दर्ता नभएका सामाजिक सञ्जालका २ सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। निर्देशनपछि ३१ वटा सञ्चारमाध्यम र २ वटा सामाजिक सञ्जालले सामग्री हटाएको जानकारी दिएका छन्।
त्यसैगरी, मिडियासँग आबद्ध नभएका २० वटा सामाजिक सञ्जाल खातामध्ये १८ वटा खाताबाट प्रकाशित २५ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ। साथै, निर्देशनको पूर्ण पालना नगरेका ४ वटा सञ्चारमाध्यमलाई पुनः निर्देशन दिइएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले केही सामाजिक सञ्जाल सञ्चालकले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने सामग्री हटाउन आग्रह गर्दा पनि आर्थिक लाभ (Monetization) भइरहेको भन्दै हटाउन अस्वीकार गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवीय संवेदनाभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने यस्तो प्रवृत्ति सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल मर्मविपरीत रहेको काउन्सिलको ठहर छ।
काउन्सिलले यस्ता सामग्री तथा सम्बन्धित सामाजिक सञ्जाल खातामाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि साइबर ब्युरो लगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
प्रेस काउन्सिलले सत्य, तथ्यपरक र जिम्मेवार सूचनाले समाजमा शान्ति कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयम, जिम्मेवारी र मानवीय संवेदनशीलताका साथ सामग्री सम्प्रेषण गर्न पुनः आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।