१३ जना फरार प्रतिवादी पक्राउ, अदालतमा दाखिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी
विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ।


आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरेको हो।


पक्राउ परेकामध्ये डाक्नेश्वरी नगरपालिका–७ का गजेन्द्र मरिक, शिबिन्द मरिक र गुरिया देवी मरिक कुटपिट मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। त्यस्तै महादेवा गाउँपालिका–१ का भरत यादव, सुरेन्द्र यादव र बिरेन्द्र यादव कुटपिट तथा लुटपिट मुद्दामा दोषी ठहर भएका थिए।


रुपनी गाउँपालिका–६ का राजन तामाङ अवैध साल काठ चिरान तथा चोरी निकासी मुद्दामा संलग्न रहेको ठहर भएको थियो। साविक लोहजरा–९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्त देवी मिश्र र प्रकाश राज मिश्र लुटपिट मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्।


त्यसैगरी राजविराज नगरपालिका–१६ का ऋषिनारायण देव झुट्टा नेपाली नागरिकता प्रमाणपत्र सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका थिए।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


उक्त जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले दिएका हुन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।