उपभोक्तामाथि कृत्रिम अभाव सिर्जना गरिएको हो ? अनुगमन र कारबाहीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी
सप्तरी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै सप्तरीका केही पेट्रोल पम्पमा "पेट्रोल तथा डिजेल उपलब्ध छैन" भन्दै बिक्री रोकिएको पाइएको छ। मूल्य घटेलगत्तै देखिएको यस अवस्थाले उपभोक्तामाझ गम्भीर प्रश्न उठाएको छ।

स्थलगत अवलोकनका क्रममा केही पेट्रोल पम्पमा "स्टक छैन" भन्ने सूचना राखिएको देखियो भने कतिपयले मौखिक रूपमा पनि इन्धन सकिएको जानकारी दिएका छन्। तर मूल्य बढ्दा भने कुनै अवरोधबिना नियमित रूपमा बिक्री हुने र मूल्य घटेपछि मात्र एकाएक इन्धन अभाव देखिनुले उपभोक्ताले कृत्रिम अभाव सिर्जना गरिएको आशंका व्यक्त गरेका छन्।

स्थानीयको भनाइमा, "मूल्य बढ्दा पुरानो स्टक पनि नयाँ मूल्यमा बिक्री हुन्छ, तर मूल्य घट्दा पुरानो स्टकको नोक्सानी हुन सक्ने भन्दै बिक्री रोकिनु उपभोक्ताप्रति अन्याय हो।"

यस्तो अवस्थाले दैनिक यात्रु, एम्बुलेन्स, सार्वजनिक यातायात, किसान तथा अन्य सेवाग्राहीलाई प्रत्यक्ष असर परेको छ। अत्यावश्यक वस्तु मानिने इन्धनको आपूर्तिमा मनपरी हुँदा सर्वसाधारणले दुःख पाउनु परेको गुनासो बढ्दो छ।

यदि वास्तवमै इन्धनको आपूर्ति रोकिएको वा स्टक सकिएको हो भने सम्बन्धित पेट्रोल पम्पले त्यसको आधिकारिक कारण सार्वजनिक गर्नुपर्छ। तर मूल्य घटेको दिनसँगै धेरै पम्पमा उस्तै अवस्था देखिनुले नियामक निकायको निष्पक्ष अनुगमन अपरिहार्य देखिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति सम्बन्धी निकाय, जिल्ला प्रशासन कार्यालय तथा नेपाल आयल निगमले तत्काल स्थलगत अनुगमन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उपभोक्ताले गरेका छन्। यदि कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने उद्देश्यले बिक्री रोकिएको पुष्टि भए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

मूल्य बढ्दा तत्काल कार्यान्वयन हुने तर मूल्य घट्दा विभिन्न बहाना बनाएर बिक्री रोक्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने भन्दै उपभोक्ताले सरकारसँग बजार अनुगमन प्रभावकारी बनाउन र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।