बाढीमा बेपत्ता देवानन्दको विवरण यकिन गर्न सप्तकोशी नगरपालिकाको सूचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी । रसुवा जिल्लामा आएको बाढी तथा विपद्का क्रममा बेपत्ता भएका सप्तरीको सप्तकोशी नगरपालिका–११ का देवानन्द चौधरीको विवरण यकिन गर्न नगरपालिकाले दाबी–विरोध पेस गर्न सूचना जारी गरेको छ।

सप्तकोशी नगरपालिकाले २०८३ कात्तिक ११ गते सूचना प्रकाशित गर्दै बेपत्ता चौधरीको विवरण यकिन गर्ने प्रक्रियाका लागि तीन दिनभित्र दाबी–विरोध वा थप प्रमाण पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार साविक कमलपुर गाविस वडा नं. ८ र हाल सप्तकोशी नगरपालिका–११ का स्थायी बासिन्दा स्वर्गीय बेचन चौधरीका ३५ वर्षीय छोरा देवानन्द चौधरी अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा लोडर अपरेटरका रूपमा कार्यरत थिए। उनी आयोजनाको आवास परिसरबाटै २०८३ भदौ १० गते रसुवा जिल्लामा आएको बाढी तथा विपद्का क्रममा बेपत्ता भएको भनी उनकी पत्नी अञ्जली कुमारी चौधरीले निवेदन दिएकी छन्।

नगरपालिकाका अनुसार सम्बन्धित वडा कार्यालयबाट समेत विवरण यकिनका लागि सिफारिस प्राप्त भएको छ। उपलब्ध कागजात तथा प्रारम्भिक जाँचका आधारमा विवरण यकिन गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सूचनामा कसैसँग यस सम्बन्धमा कुनै दाबी, विरोध वा थप प्रमाण भए सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र नगरपालिकाको विपद् व्यवस्थापन शाखामा लिखित निवेदन पेस गर्न भनिएको छ। निवेदनसँग आफ्नो परिचय खुल्ने र दाबीको आधार पुष्टि गर्ने कागजातसमेत संलग्न गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र प्राप्त दाबी–विरोध तथा प्रमाण जाँच गरी प्रचलित प्रक्रियाअनुसार निर्णय गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।