इनरुवा, साउन १७।
कैलाश माझी : सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका अधिकांश क्षेत्रमा जारी निषेध आदेश हटाएको छ। यद्यपि, संवेदनशील मानिएका चार स्थानीय तहमा भने निषेध आदेश यथावत् कायम राखिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम साउन १७ गते बिहान ९:३० बजेदेखि साँझ ७:०० बजेसम्म निषेध आदेश देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ।
प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा अधिकांश क्षेत्रमा अवस्था सामान्यतर्फ उन्मुख भएकाले अन्य स्थानबाट निषेध आदेश हटाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले निषेध आदेश लागू भएका क्षेत्रमा सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न, अनावश्यक भीडभाड नगर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।