मोरङ,साउन ४।
कैलाश माझी : मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनालाई लिएर भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका सुन्दरहरैचा–१० निवासी ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक), सुन्दरहरैचा–२ निवासी ३० वर्षीय किशोरलाल गच्छदार तथा सुन्दरहरैचा–१२ निवासी ३५ वर्षीय अबिरल मास्केलाई साउन ४ गते बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानपछि घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको खुलेमा कानुनबमोजिम आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यसैबीच, घटनाबारे अनुसन्धान जारी रहेकाले सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक टिप्पणी तथा अफवाह नफैलाउन प्रहरी प्रशासनले सबैसँग अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घटनाको यथार्थ तथ्य पत्ता लगाउन अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।