३ कार्तिक
कमल यादव
कंचनरुप,सप्तरी : सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ४, झन्कटा क्षेत्रमा एक अर्ना मृत अवस्थामा फेला परेको छ। उक्त अर्ना धानबालीको छेउमा, बाँधबाट १५ फिट पूर्वमा भेटिएको थियो। प्रारम्भिक जानकारी अनुसार, अर्ना कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको र अन्दाजी ४ वर्षको, करिब २५० किलोग्राम तौल भएको पारो अर्ना रहेको बताइएको छ।
घटनास्थलमा पुगेको पश्चिम कुशहाका सिनियर दिलिप चौधरीको टोलीले प्रारम्भिक जाँचपछि अर्नाको पोस्टमार्टम गरि, खाल्डो खनेर गाडेको छ। चौधरीले यो घटना अस्वाभाविक भएको उल्लेख गर्दै, यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
अर्ना नेपालका संरक्षित वन्यजन्तुमध्ये एक हो, जसको संरक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष महत्त्वपूर्ण स्थान मानिन्छ। स्थानीय बासिन्दाहरूले आरक्ष क्षेत्रबाट बाहिर आएका अर्नाहरूले खेतीबालीमा नोक्सान पुर्याउने तथा मानवीय द्वन्द्वको सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यस घटनामा अर्नाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको भए पनि, वन्यजन्तु संरक्षणका अधिकारीहरूले निगरानीलाई थप कडा बनाउँदै, यस्ता घटनालाई रोकथाम गर्न जनचेतना अभियानलाई सशक्त बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।