निर्वाचन प्रहरी भर्ना छनौटका लागि प्रारम्भिक शारीरिक परीक्षणको मिति तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, सप्तरी
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना छनौट प्रक्रिया अन्तर्गत प्रारम्भिक शारीरिक परीक्षण तथा शारीरिक सहिष्णुता परीक्षा सञ्चालन हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले जारी गरेको सूचनाअनुसार “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि–२०८२” बमोजिम गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापन अनुसार दरखास्त दर्ता गराएका उम्मेदवारहरूको शारीरिक परीक्षण तथा सहिष्णुता परीक्षा यही मिति २०८२ माघ ५ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन गरिनेछ।

प्रहरीका अनुसार मिति २०८२ माघ ५ गते सोमबारदेखि माघ ८ गते बिहीबारसम्म बिहान ८ बजेदेखि गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको परिसर ग्राउण्डमा परीक्षा हुनेछ। परीक्षामा सहभागी हुने उम्मेदवारहरूले तोकिएको मिति र समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ।
सूचनामा भनिएअनुसार परीक्षाका दिन

उम्मेदवारहरूले सक्कल नागरिकताको प्रमाणपत्र र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै, शारीरिक परीक्षणमा सहज हुने पोशाक—हाफ पाइन्ट, टि–सर्ट, ट्र्याक सुट तथा स्पोर्ट्स जुत्ता लगाएर उपस्थित हुन आग्रह गरिएको छ।
महिला उम्मेदवारहरूको हकमा मान्यता प्राप्त अस्पताल वा चिकित्सकबाट गरिएको गर्भ परीक्षण (Pregnancy Test) को रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। परीक्षास्थलमा मोबाइल फोन तथा अन्य बहुमूल्य सामग्री लैजान निषेध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार परीक्षा पहिलो र दोस्रो सिफ्टमा सञ्चालन हुनेछ। दर्ता नम्बरका आधारमा परीक्षा मिति निर्धारण गरिएको छ। साथै सशस्त्र प्रहरी बल, नेपाल नं. ०६ गण हे.क्वा. सप्तरीमा आवेदन दिएका दर्ता नम्बर २ देखि २२३४ सम्मका सम्पूर्ण उम्मेदवारहरूलाई समेत तोकिएको स्थान, मिति र समयमा उपस्थित हुन सूचित गरिएको छ।

निर्वाचन प्रहरी भर्ना छनौट उप–समितिका सदस्य सचिव प्रहरी निरीक्षक विजय कार्कीले उम्मेदवारहरूलाई कार्यविधि २०८२ अनुसार आफ्नो सुरक्षा स्वयं अपनाउन र नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।