राजविराज,साउन १५।
कैलाश माझी : जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि उच्च अदालत जनकपुर, राजविराज इजलासले शुक्रबारका लागि सम्पूर्ण न्यायिक कामकारबाही स्थगित गरेको छ।
अदालतको प्रशासन शाखाले जारी गरेको सूचनाअनुसार साउन १५ गते बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म राजविराज नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश लागू भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उक्त दिनका लागि अदालतका सबै सेवा तथा न्यायिक कार्य स्थगित गरिएको हो।
अदालतले म्याद, तारेख तथा अन्य न्यायिक प्रयोजनका लागि उपस्थित हुनुपर्ने सेवाग्राहीलाई लक्षित गर्दै साउन १५ गतेको अवधिलाई ‘शून्य समय’ (Zero Time) मानिने जनाएको छ। यसका कारण उक्त दिनका लागि तोकिएका म्याद, हदम्याद तथा तारेख नगुज्रने अदालतले स्पष्ट पारेको छ।
उच्च अदालत जनकपुर–राजविराज इजलासका उप–रजिष्ट्रार जानकी रमण यादवद्वारा जारी सूचनामा सेवाग्राहीलाई कर्फ्यु आदेशको पालना गर्न तथा अदालतबाट जारी हुने आगामी सूचनाअनुसार मात्र उपस्थित हुन अनुरोध गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।