सप्तरी, साउन ४।
कैलाश माझी : सप्तरीस्थित कोशी ब्यारेजबाट नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका एक युवकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ। समयमै गरिएको उद्धारका कारण उनको ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार आइतबार एक युवकले कोशी ब्यारेजको ढोका नम्बर ४७ बाट सप्तकोशी नदीमा हाम फालेका थिए। नदीमा एक व्यक्ति हाम फालेको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोली तथा स्थानीयवासी तत्काल उद्धार अभियानमा खटिएका थिए।
सप्तकोशी नदीको तीव्र बहावका कारण युवक करिब दुई किलोमिटर दक्षिण–पश्चिमतर्फ बगेका थिए। निरन्तर खोजीपछि गोताखोर टोलीले नदीमा बगिरहेको अवस्थामा उनलाई जीवितै फेला पारेर सुरक्षित रूपमा उद्धार गरेको हो।
उद्धारपछि प्रारम्भिक सोधपुछका क्रममा ती युवकले घरेलु समस्याका कारण आफूले आत्महत्याको प्रयास गरेको बताएका छन्। उद्धार गरिएका युवकको परिचय हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनिया निवासी जयप्रकाश साहका रूपमा खुलेको छ।
उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयवासीले पनि प्रहरी र सशस्त्र प्रहरीको उद्धार कार्यको प्रशंसा गरेका छन्। उनीहरूका अनुसार समयमै उद्धार टोली परिचालन नभएको भए नदीको तीव्र बहावका कारण ठूलो मानवीय क्षति हुन सक्थ्यो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै व्यक्तिगत तथा पारिवारिक समस्याको समाधानका लागि निराश भएर आत्मघाती कदम नचाल्न सबैलाई आग्रह गर्दै समस्या परेमा परिवार, आफन्त, साथीभाइ वा सम्बन्धित निकायसँग समयमै सहयोग लिन अनुरोध गरेको छ।
कोशी ब्यारेज क्षेत्रमा यसअघि पनि पटक–पटक यस्ता घटना हुने गरेका छन्। त्यसैले स्थानीयवासीले आत्महत्याका प्रयास रोक्न ब्यारेज क्षेत्रमा निगरानी व्यवस्था थप प्रभावकारी बनाउन, आवश्यक सुरक्षा उपाय अपनाउन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै परामर्श र सहयोग उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।