भोटेकोशी बाढी : पीडितको उद्धारदेखि पुनःस्थापनासम्म सहयोग गर्ने सप्तकोशी नगरपालिकाको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, भदौ ११ गते ।

कैलाश माझी : तिब्बततर्फ हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सप्तकोशी नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।

नगरपालिकाले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गरेको छ।

सप्तकोशी नगरपालिकाले आफ्नो क्षेत्रका नागरिकहरू कामकाज, रोजगारी वा आन्तरिक पर्यटनका क्रममा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा रहेका बेला विपद्मा परेको जानकारी प्राप्त भएमा उनीहरूको उद्धार, राहत तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाले बाढीबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन, घाइतेको तत्काल उपचार गर्न तथा विस्थापितको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्न संघीय तथा प्रदेश सरकारसँग हातेमालो गर्ने जनाएको छ।

साथै, प्रभावित नागरिकको राहत, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नगरभित्रका उद्योगी–व्यवसायी तथा समाजसेवीहरूलाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ।

नगरप्रमुख कृष्णप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्षबीच सहकार्य र सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।