बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा नियमित चेकिङ गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। जाँचका क्रममा बसको हुड र्याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेपछि प्रहरीले चेकजाँच गर्दा त्यसभित्र Tramadol Hydrochloride Capsules १८ हजार ३०० पिस बरामद गरेको हो।
लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बरामद लागूऔषध र पक्राउ परेका चौरसियालाई आवश्यक कानुनी प्रक्रियामा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।