काठमाडौं, साउन २९ गते।
कैलाश माझी : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC विवरण अद्यावधिक गर्न सकिने HIB e-Portal प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
बोर्डका अनुसार साउन २९ गतेदेखि सेवाग्राहीले HIB e-Portal मार्फत घरबाटै स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता गर्न, बीमालेख नवीकरण गर्न तथा KYC Update गर्न सक्ने व्यवस्था सुरु भएको हो।
स्वास्थ्य बीमा बोर्डबाट स्वीकृत ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्रणाली कार्यान्वयनमा ल्याइएको बोर्डले जनाएको छ।
नयाँ प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) प्रणालीसँग समेत अन्तरआवद्ध गरिएको छ। NID नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा समेत डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
eSewa, Khalti र ConnectIPS बाटै प्रिमियम भुक्तानी
स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरणका लागि सेवाग्राहीले eSewa, Khalti र ConnectIPS मार्फत स्वास्थ्य बीमा प्रिमियम भुक्तानी गर्न सक्नेछन्।
यस प्रणालीमार्फत व्यक्ति स्वयं वा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि स्वास्थ्य बीमा गरिसकेका परिवारले समेत परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर KYC विवरण अद्यावधिक तथा बीमालेख नवीकरण गर्न सक्ने बोर्डले जनाएको छ।
डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुने
कार्यालय वा संगठित क्षेत्रबाट एकैपटक धेरै परिवारको बीमा आबद्धता तथा नवीकरण गर्न Bulk Enrollment र Bulk Renewal को व्यवस्था गरिएको छ।
त्यसैगरी जिल्ला तथा प्रदेश तहबाट विवरण प्रमाणीकरण तथा स्वीकृति गर्ने व्यवस्था गरिएको छ। विवरण स्वीकृत भएपछि बीमितका लागि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार विद्युतीय प्रणाली कार्यान्वयनमा आएपछि स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरणको प्रक्रिया थप सहज हुने, सेवाग्राहीको समय बचत हुने र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, KYC Update मार्फत बीमितको पुरानो विवरण अद्यावधिक गर्नुका साथै स्वास्थ्य बीमा सम्बन्धी तथ्याङ्कको शुद्धता बढाउनसमेत सहयोग पुग्ने बोर्डको विश्वास छ।
नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणाअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रियामा HIB e-Portal ले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा. पवन कुमार साहद्वारा जारी विज्ञप्तिमा उक्त प्रणाली साउन २९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको जनाइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।