इटहरी, साउन १७।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन १६ गते साँझ करिब ७ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र इलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त क्षेत्रमा निगरानी तथा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थायी घर भई हाल इटहरीमै डेरा गरी बस्दै आएका २५ वर्षीय अनिश लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा ३.३६ ग्राम (तीन ग्राम तीन सय साठी मिलिग्राम) ब्राउन सुगरजस्तो देखिने लागूऔषध बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।