इनरुवा, असोज ८ गते ।
कैलाश माझी : सुनसरीमा प्रहरीले १० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटाका तथा विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले पटाका लुकाइछिपाइ राखेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार २०८३ असोज ७ गते राति ९ बजे रामधुनी नगरपालिका–१ झुम्कास्थित एक घरमा पटाकाजन्य विस्फोटक पदार्थ लुकाइछिपाइ राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धर्मु गोस्वामी, ४८ वर्ष र सोनु गोस्वामी, करिब २७ वर्षको घरमा खानतलासी तथा चेकजाँच गर्दा विभिन्न प्रकारका पटाका बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पटाकाको अनुमानित मूल्य १० लाख ३ हजार २४८ रुपैयाँ रहेको छ।
प्रहरीले बरामद गरेको सामग्रीमा ‘नागिन (King Cobra)’ १५ कार्टुन, ‘Supreme Deluxe’ ठूलो फुलझरी ३०० वटा, ‘Super Hit (Kit Kat)’ ठूलो फुलझरी ३३ वटा र ‘Flower Pots (Big)’ १ हजार २७० वटा रहेका छन्।
त्यस्तै ‘Penta Force’ मझौला फुलझरी १६५ वटा, ‘Spinner Super Deluxe’ (चक्की बम) ९२० वटा, ‘Magic Mickey Mouse Pop’ ८ वटा, बुलेट बम १ हजार ६० वटा र झिरझिरे पटाका २५० वटा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले पटाकाजन्य विस्फोटक पदार्थको स्रोत, भण्डारण तथा ओसारपसारसम्बन्धी विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।