राजविराज, भदौ २२ गते ।
कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा संलग्न रहेको आरोपमा दुई जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका एक जना र जबरजस्ती करणी मुद्दाका एक जना रहेका छन्।
सवारी ज्यान मुद्दामा सप्तरीको कञ्चनरुप नगरपालिका–२ बस्ने ३१ वर्षीय साजन विश्वकर्मा पक्राउ परेका छन्।
प्रहरीका अनुसार २०८३ साल भदौ १८ गते बिहान करिब ८ बजेको समयमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ चान्दनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट सिरहातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५४३ नम्बरको बसमा सवार कञ्चनरुप नगरपालिका–११ लछनपट्टी बस्ने करिब ४० वर्षीया निर्मला के.सी. राम बसबाट झर्ने क्रममा लडेकी थिइन्।
बसबाट झर्ने क्रममा लडेर टाउकोमा चोट लागेपछि उनलाई तत्काल उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल लगिएकोमा उपचारकै क्रममा भदौ २० गते बिहान ८ः४१ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले साजन विश्वकर्मालाई अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीबाट पक्राउ गरेको हो। घटनाका सम्बन्धमा धनराज कुमार रामको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जबरजस्ती करणी मुद्दामा सप्तरीको तिरहुत गाउँपालिका–१ धनपुरी बस्ने २८ वर्षीय चन्दन मुखिया पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ १९ गते जाहेरवालीकी २८ वर्षीया दिदी (परिवर्तित नाम १५ कञ्चनपुर ०८३/०८४ (३५)) लाई प्रतिवादीले जबरजस्ती करणी गरेको आरोप छ। घटना पश्चात फरार रहेका मुखियालाई प्रहरीले खोजतलास गर्ने क्रममा तिरहुत गाउँपालिका–१ धनपुरीबाट फेला पारी पक्राउ गरेको जनाएको छ।
घटनाका सम्बन्धमा पीडित पक्षको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले दुवै घटनामा अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।