राजविराज, असोज २० गते ।
कैलाश माझी : सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित बलान खोलाको किनारबाट प्रहरीले ४८ किलो लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा बोकेर हिँडिरहेका व्यक्तिहरू प्रहरीलाई देखेपछि गाँजा फालेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीले २०८३ असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १९ गते राति करिब १ः३० बजे बलान खोलाको पुलभन्दा दक्षिणपट्टि रहेको खोलाको किनारमा प्रहरी टोली गस्तीमा खटिएको थियो।
प्रहरी चौकी मौवाहाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्रकुमार मण्डल र प्रहरी चौकी धातिबाट प्रहरी सहायक निरीक्षक रामनारायण यादवको नेतृत्वमा संयुक्त प्रहरी टोली उक्त क्षेत्रमा गस्ती गरिरहेको थियो।
गस्तीका क्रममा प्रहरी टोलीले उत्तरबाट दक्षिणतर्फ केही मानिसहरू टाउकोमा बोरा तथा पोका बोकेर आउँदै गरेको देखेको थियो। प्रहरी टोलीलाई देखेपछि उनीहरूले बोकेर ल्याएको लागूऔषध गाँजा सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा छाडिएको सामान नियन्त्रणमा लिएर जाँच गर्दा प्लास्टिकका तीनवटा बोराभित्र कालो कपडाले बाँधिएका १७ वटा प्लास्टिकका पोकामा लागूऔषध गाँजा रहेको फेला पारेको थियो।
बरामद गरिएको गाँजाका पोकाहरूलाई कानुनबमोजिम खोली डिजिटल तराजुमा तौल गर्दा कुल तौल ४८ किलो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको लागूऔषध गाँजा कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको हो। त्यसपछि उक्त लागूऔषधलाई इलाका प्रहरी कार्यालय कडरबोनामा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ।
घटनास्थलबाट लागूऔषध फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजतलासका लागि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरू कहाँबाट गाँजा ल्याएका थिए र कहाँ लैजाने तयारीमा थिए भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बरामद लागूऔषधको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विभिन्न स्थानमा गस्ती, चेकजाँच तथा निगरानी बढाउँदै आएको जनाएको छ। यस घटनामा पनि फरार व्यक्तिहरूको पहिचान खुलेपछि कानुनबमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।