काठमाडौं, भदौ २९ गते ।
सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले काठमाडौंमा एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६, बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।
सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार–प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनको खोजी थालेको थियो।
खोजतलासका क्रममा प्रहरीले २०८३ भदौ २७ गते काठमाडौंको नयाँ बसपार्कबाट हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा लामालाई फेला पारेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई लामामाथि थप अनुसन्धान भइरहेको छ।
घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।