रौतहट, असोन २ गते ।
रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ असोज २ गते बिहान करिब ९ः३० बजे भिमडावरका तीन घरमा चोरी भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।
चोरले दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरी गरेको प्रारम्भिक विवरण छ।
त्यस्तै, सोही स्थानका मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।
तीनवटै घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला पारेको हो।
बरामद पेस्तोल नियन्त्रणमा लिई चोरी तथा हतियारसँग सम्बन्धित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।